30 November 2009

खोइ त न्याय?


उच्च पदस्थ कर्मचारीहरूले पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कारबाही नहुने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सम्पूर्ण निजामती प्रशासनको मनोबल गिरेको टिप्पणी गरेका छन्।

उच्च पदस्थ कर्मचारीका तर्फबाट सीडीओ समाजले करिमामाथि कारबाही नहुनु आपत्तिजनक रहेको उल्लेख प्रधानमन्त्रीको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण निजामती कर्मचारी निरुत्साहित र उद्दण्ड व्यवहार गर्नेहरू प्रोत्साहित भएको टिप्पणीसमेत सीडीओ समाजले गरेको छ।

प्रधानमन्त्रीले राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले कारबाही नहुने अभिव्यक्ति दिएपछि सीडीओ समाजमात्र होइन पर्सा र बारामा कार्यरत निजामती कर्मचारीहरू आक्रोशित भएका हुन्। पर्सा र बाराका कर्मचारीले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन्।

सरकारले पीडित तत्कालीन सीडीओ भण्डारीलाई कुनै जिम्मेवारी नदिई गृह मन्त्रालयमा राखेर उल्टै कारबाही गरिरहेको जानकारी गृह स्रोतले दिएको छ।

भण्डारीमाथि हातपात भएकै दिन गृहले उनलाई मन्त्रालयमा बोलाएर पर्सामा सहसचिव यादव कोइरालालाई काजमा सीडीओ बनाएर पठाएको छ। राजधानी फर्किएपछि कुनै दायित्व नदिइएपछि भण्डारीले आठ दिन बिदा लिएर बसे। त्यसपछि उनी दिनहुँ गृह मन्त्रालयमा आएर हाजिर गर्छन्, कुनै जिम्मेवारी नदिएर सरकारले उल्टै मनोवैज्ञानिक रूपमा कारबाही गरिरहेको स्रोत बताउँछ।

'आक्रमणकारी राज्यमन्त्रीमाथि कुनै कारबाही नहुने, भण्डारीलाई अभियुक्तलाई जस्तो कुनै जिम्मेवारी नदिएर राख्नु पीडितमाथिको कारबाही नै हो' गृह स्रोतले भने- 'यसले गर्दा शान्ति सुरक्षामा खटिएका कर्मचारीको मनोबल सबभन्दा बढी गिरेको छ।'

'राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले सरकारले त्यसलाई नै कारबाहीको रूपमा लिएको छ' शुक्रबार प्रधानमन्त्री नेपालले भनेका थिए 'अहिलेको अवस्थामा करिमालाई योभन्दा बढी कारबाही गर्र्न सकिंदैन।'

राज्यमन्त्री वेगमले आफू गृह जिल्ला पर्सामा जाँदा थोत्रो गाडी पठाएको भन्दै कात्तिक २४ मा भण्डारीमाथि कुटपिट गरेकी थिइन्। उनले घटना भएकै दिन संवाददाताहरूसित थोत्रो गाडी पठाएर अपमान गरेकाले आफूले कुटेको बताएकी थिइन्।

तर, उनले मंसिर २ मा विज्ञप्ति जारी गरी उक्त घटनाका लागि दुःख प्रकट गर्नेभन्दा आफ्नो अभिव्यक्ति परिवर्तन गरी उल्टै सीडीओ भण्डारीमाथि विभिन्न मधेशी मूलका नेतासित लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आएको गम्भीर आरोप लगाएकी थिइन्। त्यही कारण आफूले आवेशमा आएर सीडीओ भण्डारीलाई कुटेको दाबीसमेत उनको थियो।

सीडीओ समाजका अध्यक्ष कविराज खनालले प्रधानमन्त्रीले राज्यमन्त्री करिमाका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको र त्यसले सम्पूर्ण निजामती कर्मचारीको मनोबल कमजोर बनाएको बताए।

'करिमाले घटनाप्रति दुःख प्रकट गर्नेभन्दा सीडीओ भण्डारीमाथि उल्टै जघन्य आरोप लगाउनुभएको छ। त्यसप्रति बेवास्ता गरी प्रधानमन्त्रीले राज्यमन्त्रीलाई कारबाही हुँदैन भनेर दिएको अभिव्यक्तिले हामीलाई चिन्तित बनाएको छ। त्यसले उद्दण्ड व्यवहार गर्नेहरू उत्साहित र कर्मचारीहरूलाई निरुत्साहित बनाएको छ' खनालले नागरिकसित भने।

सीडीओ समाजका पदाधिकारीले प्रधानमन्त्री नेपाललाई भेटेर उनको अभिव्यक्तिका बारेमा आपत्ति जनाउने र राज्यमन्त्री करिमालाई कारबाही गर्नका लागि दबाब दिने जानकारी उनले दिए।

1 comment:

Anonymous said...

its \