30 November 2009

खोइ त न्याय?


उच्च पदस्थ कर्मचारीहरूले पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कारबाही नहुने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सम्पूर्ण निजामती प्रशासनको मनोबल गिरेको टिप्पणी गरेका छन्।

उच्च पदस्थ कर्मचारीका तर्फबाट सीडीओ समाजले करिमामाथि कारबाही नहुनु आपत्तिजनक रहेको उल्लेख प्रधानमन्त्रीको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण निजामती कर्मचारी निरुत्साहित र उद्दण्ड व्यवहार गर्नेहरू प्रोत्साहित भएको टिप्पणीसमेत सीडीओ समाजले गरेको छ।

प्रधानमन्त्रीले राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले कारबाही नहुने अभिव्यक्ति दिएपछि सीडीओ समाजमात्र होइन पर्सा र बारामा कार्यरत निजामती कर्मचारीहरू आक्रोशित भएका हुन्। पर्सा र बाराका कर्मचारीले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन्।

सरकारले पीडित तत्कालीन सीडीओ भण्डारीलाई कुनै जिम्मेवारी नदिई गृह मन्त्रालयमा राखेर उल्टै कारबाही गरिरहेको जानकारी गृह स्रोतले दिएको छ।

भण्डारीमाथि हातपात भएकै दिन गृहले उनलाई मन्त्रालयमा बोलाएर पर्सामा सहसचिव यादव कोइरालालाई काजमा सीडीओ बनाएर पठाएको छ। राजधानी फर्किएपछि कुनै दायित्व नदिइएपछि भण्डारीले आठ दिन बिदा लिएर बसे। त्यसपछि उनी दिनहुँ गृह मन्त्रालयमा आएर हाजिर गर्छन्, कुनै जिम्मेवारी नदिएर सरकारले उल्टै मनोवैज्ञानिक रूपमा कारबाही गरिरहेको स्रोत बताउँछ।

'आक्रमणकारी राज्यमन्त्रीमाथि कुनै कारबाही नहुने, भण्डारीलाई अभियुक्तलाई जस्तो कुनै जिम्मेवारी नदिएर राख्नु पीडितमाथिको कारबाही नै हो' गृह स्रोतले भने- 'यसले गर्दा शान्ति सुरक्षामा खटिएका कर्मचारीको मनोबल सबभन्दा बढी गिरेको छ।'

'राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले सरकारले त्यसलाई नै कारबाहीको रूपमा लिएको छ' शुक्रबार प्रधानमन्त्री नेपालले भनेका थिए 'अहिलेको अवस्थामा करिमालाई योभन्दा बढी कारबाही गर्र्न सकिंदैन।'

राज्यमन्त्री वेगमले आफू गृह जिल्ला पर्सामा जाँदा थोत्रो गाडी पठाएको भन्दै कात्तिक २४ मा भण्डारीमाथि कुटपिट गरेकी थिइन्। उनले घटना भएकै दिन संवाददाताहरूसित थोत्रो गाडी पठाएर अपमान गरेकाले आफूले कुटेको बताएकी थिइन्।

तर, उनले मंसिर २ मा विज्ञप्ति जारी गरी उक्त घटनाका लागि दुःख प्रकट गर्नेभन्दा आफ्नो अभिव्यक्ति परिवर्तन गरी उल्टै सीडीओ भण्डारीमाथि विभिन्न मधेशी मूलका नेतासित लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आएको गम्भीर आरोप लगाएकी थिइन्। त्यही कारण आफूले आवेशमा आएर सीडीओ भण्डारीलाई कुटेको दाबीसमेत उनको थियो।

सीडीओ समाजका अध्यक्ष कविराज खनालले प्रधानमन्त्रीले राज्यमन्त्री करिमाका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको र त्यसले सम्पूर्ण निजामती कर्मचारीको मनोबल कमजोर बनाएको बताए।

'करिमाले घटनाप्रति दुःख प्रकट गर्नेभन्दा सीडीओ भण्डारीमाथि उल्टै जघन्य आरोप लगाउनुभएको छ। त्यसप्रति बेवास्ता गरी प्रधानमन्त्रीले राज्यमन्त्रीलाई कारबाही हुँदैन भनेर दिएको अभिव्यक्तिले हामीलाई चिन्तित बनाएको छ। त्यसले उद्दण्ड व्यवहार गर्नेहरू उत्साहित र कर्मचारीहरूलाई निरुत्साहित बनाएको छ' खनालले नागरिकसित भने।

सीडीओ समाजका पदाधिकारीले प्रधानमन्त्री नेपाललाई भेटेर उनको अभिव्यक्तिका बारेमा आपत्ति जनाउने र राज्यमन्त्री करिमालाई कारबाही गर्नका लागि दबाब दिने जानकारी उनले दिए।

25 November 2009

आउने भयन मासु काठमाडौंमा

गढीमाई मेलामा काटिएका राँगा लैजान आएका ठेकेदारलाई अवरोध गर्दे यस क्षेत्रका कतिपय दलीत समूदायले बलीको मासु घर-घर लगेका छन्।

मंगलबार झण्डै बिस हजार राँगा बली दिइएको बधस्थलमा वारा, पर्सा , रौतहट तथा भारतबाट समेत आएका उनीहरुले मासु आफै खाने भन्दै राँगाको मासु उठाउन रोक लगाएपछि ठेकेदार र मेला समीतीबीच विवाद सुरु भएको छ। यसबाट राजधानी आउने भनिएको मासु नआउने भएको छ।

मेला समतीले स्थानीय ठेकेदारलाई प्रति गोटा ५ सय १० रुपैयाका दरले काटिएको राँगा लैजाने अनुमती दिएको थियो। यस बापत ठेकेदारले ५१ लाख रुपैया धरौटी समेत बुझाएका थिए। 'अचानक मंगलबार राती यस क्षेत्रका दलीतहरु जम्मा भएर राँगा लैजान दिएनन् ', ठेकेदार नरेन्द्र साह भन्छन् -' यसबाट हामीलाई लाखौ रुपैया घाटा लागेको छ।'


काटिएका राँगा राजधानी लगायतका विभिन्न सहरमा लैजानका लागी ठेकेदारले मंगलबार राती ७० वटा ट्रक समेत ल्याएका थिए। यस बाहेक राँगाको छाला निकालेर मासु तयार गर्नका लागी ५ सय भन्दा बढी मजदुर देशका विभिन्न भागबाट जम्मा गरेर ल्याएको साहले सुनाए। 'बधस्थलमा रहेका ७५ प्रतिसत भन्दा बढी राँगाको शरिर उनीहरुले उठाएर लगिसके ', साह थप्छन् - 'भारतबाट समेत विभिन्न दलित समुदायका व्यक्ति आएर मासु उठाएर लगेका छन्। राँगा उठाउन ल्याएका ट्रकमा तोडफोड समेत भएको छ। जसका कारण बुधबार विहान सम्म बधस्थलमा तनाव रहेको थियो। ठेकेदार साहले आफुहरुले क्षतिपूर्तीको लागी समतीमा निवेदन दिएको बताउँछन्।
यता दलितभने सदीयौ देखी आफुले खादै आएको बलीको मासु अहिले एकाएक ठेक्कामा दिएकाले जवरजस्ती लैजान परेको सुनाउछन्। मासुकै लागी भनेर कतिपय दलीतले मंगलबार दिनभरी राँगा काटेको बताए। 'हामीले सधै बलीको मासु खादै आएका छौ ', हरपुरका शिबलाल हरिजनले भने -'त्यसैले हामीले अहिले पनि बधस्थलबाट मासु उठाएर लग्यौ।' दलित समुदायले मासु लैजानु अघि ठेकेदार पक्षका मजदुरले अधिकांसको छाला निकालीसकेका छन्। यस अघिको बलीमा छालाको मात्र ठे्क्का लाग्ने गरेको थियो। मासु दलीत समुलायले खादै आएका थिए।

यता मेला समतीले भने दलीत समुदायले आफुहरुले सिनो बहिस्कार गरेको भन्दै आएका कारण मासु ठेक्कामा लगाएको दावी गरेको छ। 'त्यैपनि हामीले कुरा मिलाउदै थियौ ', बली व्यवस्थापन समितीका उपाध्यक्ष धेनुकप्रसाद चौरासीयाले भने -'ठेकेदार पक्षले मासु विग्रने भयो भन्दै उठाउन मानेन।'

24 November 2009

गडिमाइको मासुमा राजधानीको रजाइ हुनसक्ने।

गढीमाई मन्दीरमा मंगलबार काटिएका करिब २० हजार राँगाको मासु संभवत भोलीसम्ममा राजधानी पुग्ने छ। मेला व्यवस्थापन समितिले बली दिइएका राँगा ठेक्कामा बेचेपछि ठेेकेदारले बिक्रीका लागी राजधानी लैजाने तयारी गरेको हो।

बली व्यवस्थापन समितिका उपाध्यक्ष धेनुकप्रसादले प्रतिराँगा ५ सय १० रुपैयाँका दरले कलैयाका पुष्कर नाम गरेका ठेकेदारलाई ठेक्कमा दिइसकेको जनाए। यस अनुसार सुरुमा १० हजार राँगा बराबरको ५१ लाख अनुमान गरिएपनि अहिले काटिने राँगाको संख्या बढेकाले रकम पनि बढ्ने उनले बताए।

बध स्थलमा छरिएका राँगाका शवलाई ठेकेदारले मंगलबार रातभरीमा संकलन गर्ने छन्। बलीमा मारिएका उक्त राँगा व्यापारीले मासु तथा छालाको प्रयोजनका लागी किनेका हुन्। 'मासु संभवत काठमाडौ लैजान्छन् होला', उनले भने- 'त्याहाँ छाला मासु दुवैको बिक्री हुनेछ।' एक अर्को स्रोतले भने उक्त मासु चाईनाको बजारमा निकासी हुने दावी गरेको छ।

विगतका बलीमा छालाको मात्र बिक्री हुँदै आएकोमा यस पटक मासुको समेत बिक्री भएको छ। यस पटक मन्दिरमा २० हजार हाराहारीमा राँगाको बली चढेको समितीले जनाएको छ।

सकेनन बम्जन ले


गाडीमाइ मेलामा हुने पसुबली जसरी भयपनी रोक्ने भनेका बारा का तपस्बी राम बहादुर बम्जन लगायत
अधिकारकर्मी तथा धार्मिक सङ्घसंस्थाको विरोध हुँदाहुँदै पनि गढीमाई मन्दिरमा मङ्गलबार करिब २० हजार राँगालाई सामूहिक बली दिइएको छ। बिहान मन्दिरका मूल पुजारी मङ्गल चौधरीले पञ्चबली (मुसा, सुगुर, परेवा, राँगा र बोका ) दिएपछि सामूहिक बली सुरु भएको थियो।
उक्त बलीसँगै ४ विघा क्षेत्रफलमा फैलिएको बधस्थल रगतको आहालमा परिणत भएको छ। दशौं हजारको सङ्ख्यामा आएका भारत तथा नेपालका तिर्थालुले यत्रतत्र बोका तथा परेवासमेत मङ्गलबारबाटै काट्न थालेपछि मन्दिर परिसर नै रगताम्ये भएको हो।

मूल पूजारी चौधरीले बधस्थल नजिकै रहेको पीपलको बोटमुनि पञ्चबली दिएका हुन्। उनले सुरुमा बोका काटेका थिए। त्यसपछि जङ्गलबाट ल्याइएको सेतो मुसालाई धारिलो खुकुरीमा राखेर घाँटी रेटे। मुसा बली दिएको दृष्य नेपाली तथा विदेशी पत्रकारले खुवै रुचीका साथ नियालेका थिए। त्यसपछि परेवा, सुगुर र राँगो हुँदै पञ्चबली समाप्त भएको थियो।

बिहान ८ बजेको पञ्चबली समाप्तिलगत्तै हातमा खुँडा लिएका ३ सयभन्दा बढी 'मारक' हरु चिच्याउँदै बधस्थलमा प्रवेश गर्दा उक्त क्षेत्र युद्ध भूमिजस्तो देखिएको थियो। पन्ध्र हजारभन्दा बढीको सङ्ख्यामा रहेका राँगाको भीडमा खुँडा–तरवार बोकेका ३ सय व्यक्तिको प्रवेशपछि त्यहाँको वातावारण कोलाहाल बनेको थियो। मारकहरुले अन्धाधुन्ध खुँडा–खुकुरी प्रहार गर्दा राँगा कराउँदै भाग्न पुगेका थिए।

मार हान्नेहरुले भने आफूहरुलाई मार हान्न रमाइलो लाग्ने सुनाए । 'जति धेरै काट्न सक्यो उत्ति आनन्द महसुस हुन्छ', मार हान्दै गरेका रामलाल महतोले भने – परम्परा निभाउनका राँगा काट्न ग्रसर भएको हुँ।
यसरी मार हान्नेमा कतिपय पैशाका लागि आएका देखिन्थे भने कतिपय भने सोख पूरा गर्नसमेत धमाधम राँगा ढाल्दै गरेका देखिन्थे। बली दिएको दृष्य हेर्न दशौं हजारको भीड बधस्थलको चारैतिर झुम्मिएको थियो। मार हान्ने क्रम साँझसम्म जारी छ।

आफूले चिताएको पूरा हुने कामनाका साथ भारतीय तथा नेपाली भक्तजन राँगा ल्याएको सुनाउँछन्। आफूले चढाएको राँगा मारिएकोसमेत हेर्न बसेका कतिपय राँगाको बगेको रगतसँगै आफ्नो मनोकामन पूरा हुने सुनाउँथे। भारतीय राज्य बिहारका एक व्यक्तिले १ सय ५ वटा राँगा गढीमाई मेलामा बली चढाएको समितिले जनाएको छ।

मनोकांक्षा पूरा गर्न यसरी चढाइएका राँगामध्ये मङ्गलबार मध्याह्नसम्म १५ हजारको हाराहारीमा राँगा काटिसकिएको गढीमाई मेला समितिका संयोजक शिवचन्द्र कुशवाहले बताए। राँगा ल्याउने क्रम जारी रहेकाले २० हजार पुग्ने उनको भनाई छ । मंसिर ९ र १० गते बली दिने कार्यक्रम सिद्धिए पनि मेला अझै दुई सातासम्म रहने छ।