19 December 2011

शान्तिपूर्ण बन्द गर्न आह्वान गरिए पनि राजधानीमा तोडफोड र आगजनी


nagariknews.com
काठमाडौँ, पुस ४- नेपाली कङ्ग्रेसले नेपाल तरुण दल, चितवनका अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन अस्तव्यस्त भएको छ। पार्टीले कुनै पनि किसिमका तोडफोड हुन नदिन पार्टीका सबै निकाय, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिलाई आग्रह गरे पनि बन्दको अवज्ञा गरेको भन्दै राजधानीका केही स्थानमा तोडफोड र आगजनी सुरु भएको छ।

बन्दका क्रममा चावहिल स्तुपा नजिक प्रदर्शनकारीहरूले बा१ज १६३ नम्बरको ट्याक्सी ताडफोड गर्दै आगजनी गरेपछि पूर्णरूपमा ट्याक्सी जलेको छ भने तिलगङ्गामा प्राइभेट नम्बरको बा९च ३७२० कारमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले चावहिलमै एउटा पानीको ट्याङ्कर तोडफोड गरेका छन् भने सो घटनामा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बन्दकर्ताहरूले बाल्मीकि क्याम्पसमा भइरहेको परीक्षासमेत विथोलेका छन्।

सरकारसँग हिजो दिनभर भएको वार्तामा पौडेलको मृत्युका लागि छानबिन आयोग गठन, दोषीमाथि कडा कारबाही, मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति, झुटामुद्दा फिर्तालगायतका मागमा सहमति हुन नसकेपछि आज 'शान्तिपूर्ण' नेपाल बन्दको आह्वान गरिएको हो।

आन्दोलन संयोजन समितिका संयोजक दीपक गिरीले सरकारले आफ्ना कार्यकर्ता पौडेललाई झुटो मुद्दामा फसाई जेलभित्रै हत्या गर्न लगाएको र आफ्ना माग पूरा गर्नेतर्फ कुनै चासो नदिएकाले त्यसको विरोधमा शान्तिपूर्णरूपमा नेपाल बन्द आह्वान गरिएको बताए।

बन्दका क्रममा प्रेस, कूटनीतिक नियोग, रेडक्रस, शववाहन, स्वास्थ्यसेवाका साधन, फोहोर बोक्ने साधन, दूध बोक्ने साधन, पर्यटकीय वाहन, मानव अधिकारकर्मीका सवारी साधन र एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि बाधा अवरोध नगरिने जनाएको छ।


बन्दकर्ताहरूले बिहानैदेखि कोटेश्वर, चावहिल, पुतलीसडक, कलङ्की, महाराजगन्ज, सातदोबाटो, नयाँबानेश्वर, कुपण्डोल, जमल, रत्नपार्कलगायतका क्षेत्रमा नाराजुलुस गरिरहेका छन्। रासस

No comments: