18 December 2011

भोलिको बन्द यथावत् : कङ्ग्रेस


nagariknews.comबाट
गोविन्द परियार, काठमाडौं, पुस ३ - कङ्ग्रेसले कारागार आक्रमणमा परी मृत्यु भएका तरुण दल चितवन अध्यक्ष शिव पौडेलको मुद्दा फिर्ता गरी शहीद घोषणा नगरेको भन्दै भोलिको बन्द यथावत् हुने बताएको छ। सभापति सुशील कोइराला निवासमा पत्रकार सम्मेलन गरी माग पूरा नभएकाले बन्दका कार्यक्रम सशक्तरुपमा अघि बढाउने घोषणा गरेको हो।
'सरकारले नियोजित रुपमा कारागारभित्र आक्रमणमा सहयोग गरी शिव पौडेलको हत्या गरेको हो,' पत्रकार सम्मेलनमा आन्दोलन तयारी समितिमा संयोजक दिपक गिरीले भने, 'सरकार नै हत्यामा सहयोगी बनेकाले हामीले उनीमाथि लगाएका झुटा मुद्दा फिर्ता र उनलाई शहीद घोषणाको माग गरेका हौं।'

पत्रकार सम्मेलनमा सोमबार बिहान ६ बजेदेखि अपरान्ह ५:३० बजेसम्म शान्तिपूर्णरुपमा नेपाल बन्द कार्यक्रम सम्पन्न हुने घोषणा गरिएको थियो।
यसैबीच कांग्रेस केन्द्रीय समिति बैठक अहिले साँझ ५ वजे कोइराला निवासमा बस्दैछ।

लाश उठेन
सरकारले माग पूरा नगरेको भन्दै पौडेलका परिवारले लाश उठाएका छैनन्। शनिबार पौडेलको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सम्पन्न गरे पनि अहिलेसम्म परिवारले लाश बुझेको छैन। 'सरकारले नियोजित रुपमा हत्या गरेकाले पार्टीले अघि सारको माग पूरा नभएसम्म हामी लाश बुझ्दैनौ,' पौडेलका दाजु ताराले नागरिकसँग भने।

यसैबीच कङ्ग्रेसले बन्दबारे अपील जारी गरेको छ। बन्दबारे कङ्ग्रेसद्वारा जारी अपील

अपील

नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।
नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ। यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ। यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्‍याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ।

जय नेपाल !
वसन्तकुमार गौतम
मुख्य सचिव

No comments: